लिभिङ वाटर नेपालको सहयोगमा २०० घरका लागि खानेपानी आयोजना सम्पन्न

लिभिङ वाटर नेपालको आर्थिक सहयोगमा किस्पाङ–३, काहुले, नुवाकोटका ४ गाउँका २०० घरधुरीका करिब ९०० मानिसहरुका लागि खानेपानी आयोजनाहरु सम्पन्न भएका छन् । संस्थाका कर्मचारी तथा समाजसेवीहरु चतुरमान तामाङ र बिजय गुरुङको संयुक्त सक्रियता र अभियानमा उक्त खानेपानी आयोजनाहरु निर्माण सम्पन्न गरी उपभोक्ताहरुलाई हस्तान्तरण गरिएका छन् ।

उक्त आयोजना अन्तर्गत एक घर एक धारा अनुरुप धाराहरु निर्माण गरी प्रत्येक घरमा खानेपानी प्रदान गरिएको छ भने उक्त आयोजना अन्तर्गत ४ वटा खानेपानी ट्याङ्की निमार्ण गरी त्यहाँका जनताहरुलाई खानेपानी प्रदान गर्न संस्था सफल भएको छ ।

आयोजना पश्चात् ती गाउँहरुमा हर्षोल्लास छाएका छन् । वर्षौंदेखि खानेपानीको चरम अभाव झेलिरेहका गाउँलेहरुले आफ्नै घरको आँगनमा आफ्नै धाराबाट पानी थाप्न पाउँदा सपना हो कि जस्तो लागिरहेको केही गाउँलेहरु बताउँछन् । घन्टौं लगाएर पुरानो मुहानमा पानी लिन जाँदा कोरोनाको डर उतिकै रहेको तर अब ती सबै डर र त्रास हटेका एक गाउँले बताउनु हुन्छ ।

यस परियोजनालाई सफल बनाउन र ती गाउँलेहरुलाई खानेपानी प्रदान गर्नुभएकोमा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष श्री छत्र लामाले संस्था र संस्थाका कर्मचारी तथा समाजसेवीलाई हृदयदेखि अभार व्यक्त गर्नुभएको छ । अझ खानेपानीको गुणस्तरलाई स्तरीय बनाउन प्रत्येक घरलाई खानेपानी फिल्टर वितरण गरेका छन् भने स्वास्थ्य तथा व्यक्तिगत सरसफाई तालीम संचालन गरी जनचेतना जगाउने कार्यसम्पन्न गरेका छन् ।

कोरानाको विपत्तिमा खानेपानीको अव्यवस्था तथा अभाव रहेका गाउँलेहरुलाई आयोजना मार्फत व्यवस्थित तवरले खानेपानी प्रदान गर्न पाउँदा आयोजनाका संयोजक तथा समाजसेवी तामाङ निकै आनन्दित भएको बताउनुभएको छ । उक्त संस्थाले गत आर्थिक वर्षमा त्यस गाउँपालिका अन्तर्गतका २ वटा गाउँमा पनि यस्तै खानेपानीको आयोजना सम्पन्न गरी उपभोक्तालाई जिम्मा लगाएको बताउनुभएको छ ।