काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्वीट आफ्नै लागि गलपासो बन्ने संकेत देखिएको छ । उनले हिन्दू धर्ममाथि आघात पुग्ने अभिव्यक्ति दिएको भन्दै उनकै पार्टीका युवाहरूले विद्रोह गरेका हुन् ।
जसपाको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन पर्साका वरिष्ठ उपाध्यक्ष कृष्ण चौरसियासहित ११ जना युवाले राजीनामा दिएका छन् ।
उनीसँगै जिल्ला सचिव राजुराज गिरी, कोषाध्यक्ष सुशील यादव, सदस्यहरू सन्दीप चौहान, अंकुश मण्डल, प्रित्तम उपाध्याय, रवि गुप्ता, ओमहरी यादव, राजकुमार साह, भुवन गिरी, दिलखुश देवानले राजीनामाको घोषणा गरेका छन् ।
बाबुरामले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत हिन्दू धर्मावलम्बीको आस्थामा आँच आउने अभिव्यक्ति दिएका थिए । युवाहरूले भट्टराईको अभिव्यक्तिको विरोध गर्दै खेद प्रकट गरेका छन् ।
यसअघि समेत भट्टराईले पटक–पटक हिन्दू धर्ममाथि अघात पुग्ने र हिन्दू समुदायलाई अपमानित हुने गरी अभिव्यक्ति दिँदै आएकाले हाम्रो धर्म र संस्कृृतिमाथि आँच पुग्ने हुँदा बाबुराम संघीय परिषद् अध्यक्ष रहेको पार्टी निकट विद्यार्थी संगठनका पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिन बाध्य भएका चौरसियाले बताएका छन् ।
समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्षलाई बुझाइएको राजीनामा पत्रमा जनता समाजवादी पार्टी पर्सा, जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यालय काठमाडौं, समाजवादी विद्यार्थी युनियन केन्द्रीय कार्यालय काठमाडौं र समाजवादी विद्यार्थी युनियन, प्रदेश नम्बर २ जनकपुरलाई समेत बोधार्थ पठाइएको छ ।