सरकारी जागिर लगाईदिने भन्दै ठगी गर्ने लामिछाने पक्राउ

२५ भदाै, सुनसरी । बिहीबार बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत किर्ते गरि ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी पशुपतिनगर-४ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका-५ तल्लो देउरालीमा दिपक लिम्वुको घरमा डेरा गरी बस्ने ५२ बर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछाने रहेका छन् ।

आफु लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाईदिने भन्दै प्रलोभनमा पारि सर्वसाधारणबाट नगद रकम लिई लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सो पश्चात लेनदेन प्रकृतीको कागज बनाई झुक्याई ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा उनलाई डेराबाटै पक्राउ गरेको थियो ।

प्रहरीले उनको कोठाबाट सर्वोच्च अदालत काठमाडाैँ लेखिएको डिजिटल छाप थान -१, लोकसेवा कार्यालय कमलपोखरी काठमाडाैँ लेखेको रबरको छाप थान -१ (एक), गोप्य लेखेको रबरको छाप थान -१ (एक), जिबछ लामिछाने समेत लेखेको रबरको छाप थान -१ (एक), नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडाैँ लेखेको रबरको छाप थान -१ (एक), प्रहरी निरीक्षक लेखेको रबरको छाप थान -१ (एक), उपसचिव लेखेको रबरको छाप थान-१ (एक) राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रबरको छाप थान -१ (एक), लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप थान -१ (एक), शाखा अधिकृत लेखेको छाप थान -१ (एक) लगायत सो सम्बन्धित बिभिन्न कागजातहरु फेला बरामद गरेको छ ।

पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।