राष्ट्रपतिको उम्मेदवारहरूको दोस्रो बहस भर्चुअलमा डोनाल्ड ट्रम्पले सहभागी नहुने

अमेरिकाका राष्ट्रपतिको उम्मेदवारहरूको दोस्रो बहस भर्चुअल हुने भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सहभागी नहुने बताएका छन्। कमिसन अन प्रेसिडेन्सियल डिबेटले आउँदो अक्टोबर १५ मा भर्चुअल बहस गर्ने घोषणा गरेको थियो। तर घोषणा भएको केहीबेरमै राष्ट्रपति ट्रम्पले यसमा सहभागी नहुने बताएका हुन्।

‘म भर्चुअल डिबेटमा गएर मेरो समय बर्बाद गर्दिनँ,’उनले फक्स विजनेश च्यानलसँगको बिहीबारको अन्तर्वार्तामा भनेका छन्।
बरू सो रात ट्रम्प र्‍यालीमा सहभागी बताइएको छ।

द कमिसन अन प्रेसिडेन्सियल डिबेटले जो बाइडेनको पक्षमा लिएर भर्चुअल बहस गर्न लागेको ट्रम्प र उनका समर्थकहरूले आरोप लगाएका छन्। यद्यपी उनीहरूले कुनै प्रमाण भने देखाएका थिएनन्। बाइडेन समर्थकहरूले भने डिबेटले कुनै पक्षपात नगरी यस्तो निर्णय लिएको सिएनबिसीलाई बताएका छन्।

गत शुक्रबार राष्ट्रपति ट्रम्पमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। त्यसपछि प्रस्तोता स्टिभ स्कुलीसहित दुबै उम्मेदवारहरू फरक-फरक ठाउँमा बसेर भर्चुअल डिबेटमा सहभागी हुने निर्णय गरिएको थियो।

बाइडेनले यसअघि राष्ट्रपति संक्रमित भइरहे बहस गर्न नहुने बताएका थिए।

अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिको चुनाव हुँदैछ। चुनावअघि समसामयिक विषयमा उम्मेदवारहरूलाई डिबेट गराइन्छ।अघिल्लो बुधबार ट्रम्प र बाइडेनबीच पहिलो डिबेट भएको थियो। उक्त डिबेटमा ट्रम्प र वाइडेनबीच चर्काचर्की परेको थियो।

उनीहरूबीच चुनावअघि नै न्यायाधीश एमी कोनी बार्रेटलाई सर्वोच्च अदालतमा मनोनित गर्न लागेको, अमेरिकाको स्वास्थ्य अवस्था, कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्न ट्रम्प प्रशासनले गरेका काम, जातीय विभेदलगायत विषयमा बहस भयो।

बहसका क्रममा ट्रम्प र बाइडेन नीतिगत विषयसँगै व्यक्तिगत आरोप-प्रत्यारोपमा उत्रिएका थिए। बाइडेनले सुरूदेखि नै ट्रम्पलाई ढँटुवा भनेका थिए। एक ठाउँमा उनले ट्रम्पलाई रूसी राष्ट्रपति भ्लादमिर पुटिनको पपेट बताएका थिए।

बहसका क्रममा ट्रम्प र बाइडेनले धेरै पटक अर्काले बोल्दाबोल्दै बीचमै रोकेका थिए। सञ्चालकले सोधेका प्रश्नको उत्तर दिन नपाउँदै ट्रम्प बीचमै बाइडेनलाई प्रतिप्रश्न पनि गर्थे।

बहसका क्रममा एक ठाउँमा त वाइडेनले दिक्क मान्दै ट्रम्पलाई चुप लाग्न भने। उनले भने- विल यु सट अप, म्यान (के तपाईं चुप लाग्न सक्नुहुन्छ)? ट्रम्पले यसरी बीच-बीचमा अवरोध गर्नु राष्ट्रपतिको जस्तो व्यवहार नभएको पनि उनले बताए।

स्थिति सम्हाल्न सञ्चालक वालेसले भने- मलाई लाग्छ यदि हामीले दुबै जनालाई थोरै अवरोधले बोल्न दियौं भने देशको राम्रो सेवा हुनेछ। यसो गर्न म तपाईंलाई अपिल गर्छु।’

जवाफमा ट्रम्पले वाइडेनलाई लक्षित गर्दै भने,’र उनलाई पनि।’

भर्चुअल डिबेटका क्रममा अर्को वक्तालाई अवरोध गरे त्यसलाई रोक्न स्कुलीसँग ‘म्युट बटन’ हुन्छ कि हुन्न भन्ने अझै खुलाइएको छैन।