आइपिएलमा कोलकता नाइटराइडर्सले किंग्स ११ पञ्जावमाथि रोमाञ्चक जित हात पारेको छ। शनिबार अबुधावीमा भएको खेलमा पञ्जावले अन्तिम ३ ओभरमा २२ रन जोड्न नसक्दा २ रनको पराजय भोग्यो। कोलकताले दिएको १६५ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेटको क्षतिमा १६२ रन मात्र जोड्न सक्यो।
१७ ओभरमा सकिदा पञ्जावले १ विकेटको क्षतिमा १४३ रन जोडेको थियो। त्यसपछि पञ्जावले ४ विकेट गुमाउँदा २२ रन जोड्न सकेन। जसका कारण पञ्जाव पराजित भयो।
१९ ओभरको अन्तिम बलमा कप्तान केएल राहुल ७४ रनमा आउट भएपछि पञ्जाव दबाबमा परेको थियो। अन्तिम ओभरमा जितका लागि १४ रन चाहिए पनि पञ्जावले १ विकेटको क्षतिमा ११ रन मात्र जोड्न सक्यो। अन्तिम ओभरको पाँचौ बलमा पञ्जावका मन्दिप सिंह शून्यमा आउट भएका थिए। जसका कारण अन्तिम बलमा छक्का प्रहार गरे मात्र खेल सुपर ओभरमा पुग्ने स्थिति थियो। तर ग्लेन म्याक्सवेलले चौका मात्र हान्न सके।
त्यसअघि पञ्जावका मंयक अग्रवाल र केएल राहुलले पहिलो विकेटका ११५ रनको साझेदारी गरेका थिए। अग्रवाल १५ ओभरमा ५६ रनमा बनाएर आउट भएका थिए। १८ ओभरमा निकोलास पूरान १६ रनमा आउट भए।
बलिङमा कोलकताका प्रसिद कृष्णले ३ विकेट लिए भने सुनील नारिनले २ विकेट हात पारे। त्यसअघि कोलकताले २० ओभरमा ६ विकेटको क्षतिमा १६४ रन जोड्यो। उसका लागि दिनेश कप्तान कार्तिकले ५८ रन जोडे। यस्तै शुभमान गिलले ५७ रनको योगदान दिए।
जितसँगै तेस्रो स्थानमा उक्लिएको कोलकताले ६ खेलबाट ८ अंक जोडेको छ। पुछारका रहेको पञ्जावले ७ खेलमा एक जित मात्र हात पारेको छ।